प्रथम त्रैमासमा करिब ११ अर्बले बढ्यो खाद्यान्न आयात
काठमाडौं, १४ कात्तिक । खाद्यान्नमा परनिर्भरता चुलिँदै जाँदा मुलुकबाट वर्षेनि अर्बौं रुपैयाँ बाहिरिने गरेको छ । र, यो क्रम वर्षेनि उच्च परिमाणले बढ्दै गएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामै मुलुकमा करिब २० अर्ब रुपैयाँ बराबरको मुख्य खाद्यान्न आयात भएको भन्सार विभागको तथ्यांकले नै यसको पुष्टि गरेको छ । गत आवको सोही अवधिमा ९ अर्ब २२ करोड बराबरको खाद्यान्न (धान, चामल–कनिका, मकै, गहुँ, कोदो) आयात भएको थियो ।
भन्सार विभागका अनुसार आवको असोज मसान्तसम्ममा धान–चामल मात्रै १० अर्ब ६० करोड रुपैयाँको आयात भएको छ, गत आवको पहिलो त्रैमासको भन्दा दोब्बर हो । गत आवको सोही अवधिमा ५ अर्ब ६ करोड रुपैयाँको धान–चामल भित्रिएको थियो । भारतसहित तेस्रो मुलुकहरूबाट उक्त परिमाणमा धान–चामल आयात भएको हो ।
विभागका अनुसार आवको पहिलो तीन महिनामा कृषि वस्तुको कुल आयात ७० अर्ब ५८ करोड रुपैयाँ बराबरको भएको छ । सोही अवधिमा ९ अर्ब ३६ करोडको तरकारी, ४ अर्ब १० करोडको फलपूmल र २ अर्ब ७२ करोड रुपैयाँ बराबरको चिया–कफी मुलुकमा भित्रिएको छ ।