Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

संसद्मा आज विश्वासको मत लिँदै प्रधानमन्त्री, यस्तो छ अधिवेशनको कार्यसूची

संसद्मा आज विश्वासको मत लिँदै प्रधानमन्त्री, यस्तो छ अधिवेशनको कार्यसूची

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने पुष्ट्याइँका लागि आज (सोमवार) दिउँसो १ बजे प्रतिनिधिसभाको अधिवेशन बस्दै छ । प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको थियो ।

सभामुख र संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतक सम्मिलित कार्यव्यवस्था परामर्श समितिले अधिवेशनको सम्भावित कार्यसूची तय गरेको छ । कार्यव्यवस्था परामर्शबाट कोभिड–१९ संक्रमित सांसदलाई सुरक्षित वातावरणमा मतदान प्रक्रियामा सहभागी गराइने निर्णय भएको छ । कोभिड लागेका सांसदलाई सुरक्षित तरिकाले मतदानमा सहभागी गराउन वातावरण बनाउने र दलका नेताको मन्तव्य पनि संक्षिप्त र छोटो गर्ने भन्ने निर्णय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

मतदान प्रक्रियामा पिसिआर नेगेटिभ नतिजा भएकालाई मुख्य सभाकक्षमा मतदानको व्यवस्था मिलाउने, पिसिआर नभएकालाई ल्याउन लगाउने तथा पोजिटिभ संक्रमितलाई बेग्लै सुरक्षित र सुनिश्चित कक्षमा राखेर मतदान गर्ने प्रबन्ध मिलाइने उनको भनाइ छ ।

निर्धारित कार्यसूची अनुसार अधिवेशनको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्षमण्डल चयन गरिनेछ । बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गर्नेछन् । प्रस्ताब टेबल गरेसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गर्नेछन् । त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नेछन् । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनेछन् ।

प्रधानमन्त्रीको जवाफपछि विश्वासको मतका लागि मत विभाजनसम्बन्धी प्रस्ताव अघि बढ्नेछ । मत विभाजनका क्रममा हुन्छ, हुन्न र दिन्न भन्ने तीन मत जाहेर गर्ने व्यवस्था रहनेछ । विश्वासको मत लिने सन्दर्भमा यस पटकको विशेष व्यवस्थाका रुपमा कोरोना संक्रमणबाट प्रभावित सांसदका लागि बेग्लै कक्षमा मतदानको व्यवस्था हुनेछ । संवैधानिक व्यवस्थानुसार २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ सदस्य कायम छन् । प्रधानमन्त्रीको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक छ । मत बराबर भएका खण्डमा सभामुखले निर्णय दिन पाउनेछन् । अन्यथा सोमवारको अधिवेशनमा २६६ सांसदले मत जाहेर गर्नेछन् ।

मतदानपछि अधिवेशन सोमवार नै अन्त्य हुनेछ । यो अधिवेशन सकिएलगत्तै सरकारले बर्खे अधिवेशन बोलाउनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x