सहरमा १८.३४ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि
काठमाडौं, १ फागुन। भूकम्प र कोरोना महामारीलगायत विभिन्न कारणले नेपालमा गरिबी दर घट्न सकेकाे छैन । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा अझै २० दशमलव २७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि जिवन व्यतित गरीरहेका छन् ।
‘नेपाल जीवनस्तर सर्वेक्षण चौथो २०७९÷८०’ अनुसार खाद्य गरिबीको रेखा ३५,०२९ र गैरखाद्य गरिबीको रेखा ३७,८ ७९ गरी गरिबीको रेखा रु ७२,९०८ कायम भएकाे देखिएकाे छ । ‘वि.स. २०७२ सालमा आएको महाभूकम्प र कोरोना महामारी जस्ता कारणहरुबाट अपेक्षित रुपमा गरिबीको दर घट्न सकेको देखिदैन । नयाँ गरिबीको रेखा अनुसार २०.२७ प्रतिशत जनसंख्या गरिबी रेखामुनि रहेको देखिन्छ, ‘सर्वेक्षणमा भनिएकाे छ ।
गरिबीको दर शहरी क्षेत्रमा (१८.३४ प्रतिशत) भन्दा ग्रामीण क्षेत्रमा (२४.६६ प्रतिशत) बढी रहेको देखिन्छ । यस सर्वेक्षणमा गरिबीको रेखा अद्यावधिक गरिएको कारणले अघिल्ला सर्वेक्षणहरुसँग प्रत्यक्षरुपमा तुलना गर्न नसकिने बताइएकाे छ।
पहिलो पटक यस सर्वेक्षणबाट प्रदेश तहमा गरिबीको दर प्रकाशन गरिएको छ । सात प्रदेश र १५ वटा विश्लेषणात्मक क्षेत्रहरूमा गरिबीको दरमा उल्लेख्य मात्रामा भिन्नता रहेको देखिएकाे छ । सात प्रदेश मध्ये मधेश, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा गरिबी दर राष्ट्रिय गरिबीको दर भन्दा बढी देखिएको छ । राष्ट्रियस्तर भन्दा बढी गरिबीको दर देखिएका प्रदेशहरुमा सुदूरपश्चिम प्रदेशमा (३४.१६ प्रतिशत), कर्णाली प्रदेशमा (२६.६९ प्रतिशत), लुम्बिनी प्रदेशमा (२४.३५ प्रतिशत) र मधेश प्रदेशमा (२२.५३ प्रतिशत) पर्दछन । गण्डकी, बागमती र कोशी प्रदेशमा गरिबी दर क्रमशः ११.८८, १२.५९ र १७.१९ प्रतिशत रहेको छ जुन राष्ट्रिय गरिबीको दरभन्दा कम रहेको देखिन्छ ।
नेपालको गरिबीको विषमता सूचक ४.५२ प्रतिशत रहेको छ । नेपालको ग्रामीण क्षेत्रमा गरिबीको विषमता सूचक ५.६४ र शहरी क्षेत्रमा ४.०३ प्रतिशत रहेको देखिन्छ । गरिबीको विषमता सूचक शहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा केहि बढी रहेको देखाएकाे छ । गरिबीको विषमता सूचकले गरिबीको रेखाबाट कति टाढा रहेका छन् भन्ने जानकारी गराउँदछ ।